रुन्छ नि मन किन रुँदैन ! २ श्रीमानका ३ सन्तानकी आमाको व्यथा ...
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

वैशाख २५, २०७३- दिनको शिशुको आँखामा जस्तो चहक थियो त्योभन्दा ठ्याक्कै उल्टो थियो डडेलधुरा माइत भएकी मनकुमारी कठायत (नाम परिवर्तन) को अनुहार । नवजात शिशुको मुहारमा छचल्किएका खुसी, उसको आँखामा पोतिएको मोहक रंग । त्यसलाई नजिकबाट हेर्न पाउँदा एउटी आमाको अनुहारमा जस्तो खुसी छाउनुपर्ने हो, त्यस्तो केही थिएन । आमा भएर पनि मनकुमारीको अनुहारमा आमाको जस्तो खुसी थिएन । धेरै बेर कुरा गरेपछि थाह भयो, उनको हृदयमा प्रेम त थियो तर अनुहारमा छचल्किने गरी खुसी थिएन । उनको सबै दु:ख सुनेपछि भन्न करै लाग्यो, होस् पनि कसरी ? ‘यसको भाग्य बलियो रैछ । जन्मेरै छाडी,’ मनकुमारीले सुस्तरी सुनाइन्, ‘मैले गर्भपतन गर्न कति धेरै औषधि खाएँ । तैपनि यसको भाग्य बलियो रैछ ।’ यसो भनिरहँदा उनको अनुहार फुंग उडेजस्तै भएको थियो । त्यसो त मनकुमारीलाई यो छोरी जन्माउने मनै थिएन । उनी परिस्थितिको बन्दी भएकी थिइन् । छोरी जन्मिएपछि उनलाई झन् धेरै दु:ख र हैरानी लस्कर लागेर आउँछन् भन्ने लागेको थियो । नलागोस् पनि किन, यो मनकुमारीले इच्छयाएको गर्भ थिएन र जसको गर्भ उनले बोकेकी थिइन् त्यो उनको लोग्ने पनि थिएन । मनकुमारीको हैरानीको लामो कथा जान्न उनको बिहेपछिको जिन्दगी बुझ्नु पर्छ । जसमा धेरै कमा र फुलस्टपभन्दा पनि प्रश्नवाचक र विष्मयादिबोधक चिह्नहरू धेरै छन् । स्कुलको दैलो पनि नटेकेकी, साँवाअक्षर पनि नचिनेकी, १३ वर्षमै बिहे गरेकी, २० वर्षमा दुई छोराको आमा बनेकी सबै घटना २६ वर्षीय मनका निम्ति सामान्य हुन् । दु:खको उनको नयाँ अध्याय त ०७२ पछि सुरु भएको हो । जतिबेला उनी स–साना छोरालाई काठमाडौंको होस्टेलमा राखेर श्रमका निम्ति मलेसिया उडेकी थिइन् । मनकुमारीसँग यतिखेर आफैंप्रति धेरै गुनासा छन् । समयप्रति उनको उत्तिकै तीखो बुझाइ छ । आफूलाई छोडी जाने लोग्नेसँग, आफ्नो चरित्रमाथि शंका र लान्छना लगाउने घरका सदस्यसँग र आपतका बेला आड नदिने आफन्तीसँग पनि उनको धेरै गुनासो छैन । उनले स्वीकारोक्तिको भावमा भनिन्, ‘यस्तो हुन लेख्या रैछ ।’ उमेरअनुसार दु:खको हिसाब लगाइन्थ्यो भने मनको भागमा यति धेरै दु:ख पर्दैनथ्यो । कहिलेकाहीं उनलाई लाग्छ, ‘सबै मान्छेको दु:खको भाग मैले एक्लै भोगें । मैले एक्लै स्वीकारेर बाँचें ।’  डडेलधुराको घरबाट महेन्द्रनगरस्थित फुपूको घरमा आएका बेला १३ वर्षकी मनकुमारीलाई सोही गाउँमा बस्ने दोब्बर उमेरका पाका मान्छेसँग फुपूले नै बिहे गरिदिइन् । दुई सन्तान भएपछि उनका लोग्ने मजदुरीका निम्ति भारत हान्निए । केही वर्ष बसेर फर्किंदा उनी पहेंलपित्त रोगले थलिएर फर्केका थिए । मनकुमारीले उनलाई स्याहारिन् । तंग्रिएपछि उनले मलेसिया जाने चाँजो मिलाए । मनले आमा समूहबाट ३० हजार रुपैयाँ खोजेर हालिदिइन् । तर, कतार पुगेका लोग्ने विस्तारै मनप्रति सशंकित हुँदै गए । मनले भनिन्, ‘उनले क–कसका कुरा सुने ख्याल भएन । तर प्रत्येकपटकको फोनमा मेरो चरित्रमाथि शंका गरे । त्यसलाई परिवारका सदस्यले पनि मलजल गरे ।’ घरमा बस्नै नसक्ने भएपछि मन दुई छोरा च्यापेर निस्किइन् । केही दिन आफन्तीकहाँ बसिन् । तर, सधैं अर्काको घरमा पनि कसरी बस्नु ? त्यहीबेला मनलाई कसैले सुनाइदियो, मलेसिया गए मनग्ये कमाइन्छ । दुई छोराको भविष्य सम्झेर मनलाई लाग्यो, विदेश नगई हुन्न । गहनापात बेचेर मन काठमाडौं आइन् पासपोर्ट बनाइन् । एउटा अनाथ आश्रममा आयाको काम पाइन् र छोराहरूलाई पनि त्यहीं राखिन् । मनले सुनाइन्, ‘मसँग विदेश जानुबाहेक कुनै उपाय थिएन ।’ उनको उत्तर यतिमै सकिएन– भनिन्, ‘दुईटा छोरा मात्रै नभाको भए, म काठमाडौंमै पाखुरी बजारेर बाँच्थें । तर, छोराहरूको भविष्य सम्झेर मेरो मन अडिएन ।’ गाउँदेखि नै चिनेजानेका एकजना दलाल कवीन्द्रले मनलाई भने, ‘पैसा म हाल्दिम्ला तँ जा । पछि ब्याजसहित तिर्लिस् ।’ मलेसियामा रहेका ती दलालले ७० हजार रुपैयाँ ऋण हालिदिए । सबै चाजोपाँजो मिलाइदिए । सावाँअक्षर नचिनेर के भो र ? आफूसँग बचत नभएर के भो र ? उनी मलेसिया पुगिन् । त्यो महिना अर्थात् ०७२ जेठ महिनामा मात्रै २ लाख ३३ हजार ९ सय ६५ नेपाली मलेसिया उडेका थिए । जसमध्ये ७ हजार २ सय ३ महिला थिए । तिनैमध्ये एक थिइन् मनकुमारी । पहिलोचोटि काठमाडौं आउँदा जति अनौठो लागेको थियो, उति नै अनौठो लाग्यो उनलाई पहिलोचोटि बडेमानको विमान चढेर मलेसिया जाँदा । कहिल्यै नभोगेका, कहिल्यै नदेखेका अनौठा कुराले पनि उनको मन खुसी थिएन । होस् पनि कसरी, आमाको काखमा खेल्ने, बाको बुईंमा घोडा चढ्ने उमरेका दुई छोरा काठमाडौंको होस्टेलमा थिए । मलेसिया पुग्दा मनलाई लागेको थियो, १ वर्षमा ऋण तिर्छु । त्यसपछि कमाएको पैसाले सबै दु:ख पखाल्छु । छोराहरूलाई गतिलोसँग पढाउँछु । काम पनि मनलाई त्यति गाह्रो परेकै थिएन । ९ सय रिंगिट तलब थियो । तर, काम सुरु गरेको केही महिना पनि बित्न नपाउँदै दलाल कवीन्द्रले ऋण छिटो चुक्ता गर्न भन्दै धम्क्याउन थाल्यो । त्यसपछि मन समस्यामा परिन् । प्रत्येक दिन फोनमा आउने धम्की त उनले सहेकै थिइन्, तर एक दिन दुई अफ्रिकन केटाहरू उनलाई खोज्दै कोठामा आए । तिनीहरूले हातमा चक्कु बोकेका थिए । तर, भाग्यको कुरा सँगै बस्ने अरू महिला कामदारले हल्ली–खल्ली गरेपछि तिनीहरू भागे । मनले भनिन्, ‘मलाई बाँच्न लेखेको रछ । नत्र त्यही दिन मर्ने थिएँ ।’ मनलाई बुझ्न गाह्रो थिएन, दलालले नै ती मान्छे पठाएको थियो । आफैंलाई मार्न तम्सिएको दलाल यतिमै रोकिएन । उसले काठमाडौंमा रहेका दुई छोरालाई होस्टेलबाट निकालिदिने भन्दै धम्क्यायो पनि । त्यसपछि मनसँग विकल्प रहेन । नयाँ ठाउँ, उत्पात गर्मी र छोराहरूको यादको झनै चर्को गर्मी । उनी भित्रभित्रै कमजोर भएकी थिइन् । दु:खका यिनै दिनमा एकदिन सँगै बस्ने माया लिम्बू दिदीले मनलाई नजिकैको अर्को कम्पनीमा काम गर्ने विवेकराज भण्डारीसँग चिनाइदिइन् । विवेक सेक्युरिटी गार्डका रूपमा काम गर्थे । आफ्नै दिदीबैनीजस्तो व्यवहार गर्दै विवेकले मनको सबै ऋण किस्ता–किस्ता गरेर तिरिदिए । मनले ठानिन्, संसारमा मनका धनी मान्छे पनि छन् । सबै दलालजस्ता हृदय नभएका मात्रै छैनन् । जसले आपतमा सहयोग गर्‍यो मन उसैसँग नजिक भइन् । ‘कसैले नचिन्ने अनौठो ठाममा एउटा नेपालीले सहयोग गरेपछि म कसरी टाढा हुनु,’ मनले सुनाइन्, ‘त्यसपछि विस्तारै हामी सँगै बस्न थाल्यौं ।’ लोग्नेले छाडे पनि मनलाई पनि समाउने हाँगो चाहिएको थियो, टेक्ने जमिनको खाँचो थियो । एकदिन विवेकले भने, ‘तिमी मेरी भयौ म तिम्रो भएँ । नेपाल पुगेर बिहे गरम्ला । सँगै बसम्ला ।’ आपत्मा देउता बनेर देखापरेका मान्छेको कुरा कसरी काट्नु । मनले विवेकका सबै कुरा मानिन् । सबै कुरा मानेपछि मन पनि उसैको भयो, शरीर पनि उसैको । सँगै बस्न थालेको केही महिनापछि मनलाई रिँगटा लागेजस्तो भयो । टाउको घुमेजस्तो भयो । संसार नै नअडिएजस्तो भयो । माया दिदीले नै भनिदिइन्, ‘लाटी तेरो गर्भ बसेछ ।’ मनलाई पर्नु आपत् पर्‍यो । तर, विवेकले सम्झाए, ‘किन पीर गर्छेस् । म छँदै छु ।’ विवेककै सल्लाहमा मनले गर्भपतन गर्ने निर्णय मानिन् । कहाँ–कहाँबाट हो विवेकले खोजेर औषधि ल्याउँथे । मनले चुपचाप खान्थिन् । चारवटा टयाब्लेट खाँदा पनि मनको गर्भपतन भएन । मनले काखमा रहेकी छोरीको अनुहार हेर्दै भनिन्, ‘यसको भाग्य बलियो रैछ । जन्मेरै छाडी ।’ गर्भपतन हुने कडा औषधि सेवनले मन झनै कमजोर भइन् । काममा जाँदा उनको टाउको खाली भनभनी घुमिरहेको हुन्थ्यो । खुट्टा सही चालमा हुँदैनथे । आँखाअगाडिका सबै दृश्य धमिलो देखिन्थ्यो । औषधिले शरीर कमजोर बनायो तर गर्भ तुहाउन सकेन । मन झनै कमजोर हुँदै गइन् र काम गर्न जानै छाडिन् । मलेसियाको कानुनअनुसार यसरी गर्भ बोक्नु अवैध थियो । झन् अवैध गर्भ जन्माउनु त कानुनमै निषेधकारी काम थियो । विवेकले ट्राभल डकुमेन्ट बनाएर मनलाई नेपाल पठाइदिए । काठमाडौं आउँदा मनसँग उदास मन र उक्सेको पेटबाहेक केही थिएन । दुई छोरा त हुर्काउन सास्ती छ, यो तेस्रो सन्तान कसरी हुर्काउँला ? मन आत्तिएकी थिइन् र छटपटीले उनलाई बेस्सरी गाँजेको थियो । मनले नढाँटी सुनाइन्, गर्भ ६ महिना पुगेपछि पनि मैले नख्खुस्थित एक निजी क्लिनिकमा गएर गर्भपतन गर्न खोजें । ३० हजार रुपैयाँ लाग्ने भएपछि पछि हटें । मनसँग पैसा भएको भए, जसरी भए पनि गर्भपतन गर्ने थिइन् । दुई छोरामाथि उनी तेस्रो छोरीको बोझ थप्न तयार थिइनन् । मनले सुनाइन्, ‘विवेकसँग गर्भपतन गर्न पैसा माग्या थें । तर त्यसले पठाइदिएन ।’ विवेकसँग कुराकानी पातलो हुँदै गएको थियो । मनका चिन्ता र छटपटी भने बाक्लो हुँदै थियो । आफूले बचाएर ल्याएको केही पैसा उनले छोराको होस्टेल फिस तिरिन् । विवेकले पनि उदार भएझैं गरेर १० हजार रुपैयाँ पठाइदिए । पुटुक्क उक्सेको पेट र बढ्दो छटपटीमा मन फेरि पुरानै अनाथ आश्रम पुगिन् । केही समय आश्रय लिइन् र दालभातको जोहो गरिन् ।  फागुन ५ गते रातको १ बजे । थापथलीको प्रसूति गृहमा च्याह आवाज आयो । त्यो मनको गर्भबाट जन्मिएकी छोरीको आवाज थियो । मन एक्लै थिइन् । उनले भनिन्, ‘नर्मल डेलिभरी भएर मात्रै मलाई सजिलो भयो नत्र म के गर्दाम् ?’ मनले छोरीको अनुहार मुसार्दै सुनाइन्, ‘यसको आयु त ठूलो रैछ । त्यही भएर त सबै ठाउँमा जित्दै आई ।’ आफैं तंग्रिएर मन एक चिनेजानेकी दिदीको आश्रयमा गइन् । तिनले एउटा मिसिनरी केन्द्रमा लगेर राखी दिइन् । अहिले तिनै दिदीको सहयोगमा मनले आफ्ना दुई छोरा बोर्डिङमा हालेकी छिन् । नख्खुमा ३ हजार रुपैयाँ पर्ने एउटा सानो कोठा लिएकी छिन् । छोरी जन्मिएकै महिना विवेक मलेसियाबाट फर्किए । मनले ठानेकी थिइन्, भेट्न आउँला । तर, विवेक आएनन् । आऊन् पनि कसरी, ताप्लेजुङको फुङलिङ ५ स्थित घरबाट उनकी पत्नी लिन आएकी थिइन् । सबै कुरा थाह पाएपछि मनलाई छङ्गाछुर भिरबाट कैयौं कोस तल गुल्टेजस्तै अनुभूति भयो । उनले सुनाइन्, ‘अब त यहाँभन्दा धेरै दु:ख पाउन मलाई लेख्या छन् होला भनेर चित्त बुझाएँ ।’ मनले विवेकलाई बारम्बार फोन गरिन् । फोन मुस्किलले उठ्थ्यो । विवेकले तैपनि भन्थे, ‘तँ आफ्नै ठाममा । जेठी आफ्नै ठाममा ।’ तर मनले निश्चय गरिन्, अब यसरी हुँदैन । आफ्नो भविष्यभन्दा पनि भोलि कसैले नवजात छोरीको परिचय खोज्दा कहाँबाट जुटाउनु । मनले छटपटीको समयमा एकदिन निश्चय गरिन्, विवेककै घर जान्छु । कहाँको घाम अस्ताउने पश्चिमको डडेलधुरा । कहाँको सूर्य उदाउने पूर्वको ताप्लेजुङ । रातभर र दिनभरको यात्रा गरेर मन ताप्लेजुङको सदरमुकाम पुगिन् । मनले सुनाइन्, ‘हाम्रातिरका भन्दा उताका पहाड ठूला रैछन् । हाम्रातिरका भन्दा हरिया रैछन् ।’ तर मनको पहाडजस्तो हरियो थिएन । बरु दु:ख नै पहाडभन्दा अग्लो थियो । उनी सोझै प्रहरी कार्यालय पुगेर विवेकको फोटो देखाइन् र सबै कथा बताइदिइन् । संयोग पनि कस्तो, प्रहरीले नजिकै घर भएका विवेकलाई खोजेर ल्याइहाले । एक रात थुनेर राखे अनि अंश दिलाउने, छोरीको लालनपालन खर्च बेर्होने र सबै परिचय दिलाइदिने सर्तमा छोडिदियो । एक रात प्रहरी कार्यालयमा आश्रय लिएर एक रात अरूकै घरमा शरण लिएर मन काठमाडौं आइन् ।  मनको दु:ख अझै सकिएको थिएन । उनले भनिन्, ‘पहिलो लोग्नेले छाडे पनि उसँग कानुनी रूपमा पारपाचुके भएको थिएन ।’ उनी एकदिन मात्रै काठमाडौं बसेर कञ्चनपुरको महेन्द्रनगर गइन् । कसको छोरी बोकेर हिँडेकी भनेर अरूले कुरा काटलान् भनेर उनले सदरमुकाम नजिकैको एक चिनेकी दिदीको घरमा छोरी लुकाएर राखिन् । मनले भनिन्, ‘अहिलेसम्म मेरा आफन्त र नजिकका मान्छे कसैलाई पनि छोरी पाएको खबर थाहा देको छैन ।’ मनले कञ्चनपुरस्थित जिल्ला अदालतमा पारपाचुकेको मुद्दा दर्ता गरिन् । मनलाई थाह छैन, आफ्नो चरित्रमा बात लगाउने लोग्ने कहाँ छ ? त्यो गाउँमा पनि रैनछ मनले भनिन्, त्यसको अनुहार पनि हेर्न मन छैन । यति भनिसक्दा मनको काखमा रहेको नानी चर्कोसँग रोइन् । मनले गम्छाले छोपेर त्यसलाई दूध चुसाइन् । दु:खका झन्डै २ वर्षमा मन पहिलेजस्ती छैनिन् । उनैले भनिन्, ‘म पहिला त बोल्नै डराउँथे । अहिले केहीसँग डर लाग्दैन । कसैको भर लाग्दैन ।’ डर लाग्थ्यो भने त डडेलधुरमा जन्मेकी मन छोरीको बाबु खोज्न ताप्लेजुङ नै पुग्ने थिइनन् । मनलाई विश्वास छ, कञ्चनपुर जिल्ला अदालतको मुद्दा जितेपछि त ताप्लेजुङको मुद्दा पनि जितिहाल्छु । सबै कुरा सम्झेर ल्याउँदा मनलाई बेलाबखत आफ्नो जिन्दगी बेकार लाग्छ । तर, जब छोरीको अनुहार देख्छिन्, दुई हुर्किंदा छोराको चुलबुल देख्छिन् तब अझै बाँच्नुपर्छ भन्ने लाग्छ । अब त म पहिलाजस्तो रुन पनि छाडिसकें मनकुमारीले मनकै कुरा भनिन्, ‘आँखाबाट आँसु पनि आउन्न । तर, पनि बेला–बेला मन त रुन्छ नै । तर, आँसु झारेर कसैका अघि कमजोर बन्न चाहन्नँ ।’ ekantipur.com - बाट साभार

0 comments

Write Down Your Responses