आफनै नेतृत्वमा सरकार गठन गर्ने निर्णयबाट एमाओवादी पछाडि फर्कियो
काठमाडौं: कांग्रेसको समर्थनमा आफैं प्रधानमन्त्री बन्ने कसरतमा लागेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अन्तिम समयमा केपी ओलीकै सरकारलाई निरन्तरता दिने निर्णय गरी वाम नेतृत्व तथा वर्चस्वको सरकारलाई जीवनदान दिएका छन्।
दाहालको मन र निर्णय परिवर्तनभित्र केही रहस्य लुकेको अथवा निकट भविष्यमै ओलीले राजीनामा गरी दाहाललाई आफ्नो उत्तराधिकारीका रूपमा समर्थन गर्ने सहमति भएको दाहालका निकट सहयोगीहरू बताउँछन्।
सदनमा एमाओवादी मन्त्रीहरूको राजीनामा र दाहालद्वारा सरकारलाई दिइएको समर्थन फिर्ता लिने घोषणाको प्रतीक्षा भइरहेको बेला उनले अनपेक्षित रूपमा एमाले नेतृत्वको सरकारलाई समर्थन जारी राख्ने घोषणा गरेर कांग्रेस र खासगरी सभापति शेरबहादुर देउवालाई निराश बनाए।
कांग्रेसले उनको यो कदमलाई विश्वासघातको संज्ञा दिएको छ भने दाहालले आफ्नो कदम संविधान कार्यान्वयनका लागि आवश्यक भएको बताए।नीति तथा कार्यक्रम र बजेट पछि दाहाललाई नेतृत्व हस्तान्तरण गर्ने तहमा ओली पुग्नु र आफनो नेतृत्वमा सरकार गठन गर्न पहल अगाडि बढाएका दाहाल पछाडि हटनुमा अन्तराष्ट्रिय सुत्रहरुले काम गरेको ठहर सम्बद्ध दलका नेताहरुले गरेका छन।
'यो अस्वभाविक थियो। यसमा राष्ट्रिय र अन्तराष्ट्रिय पाटो पनि जोडिएको छ,' एमाओवादीका बरिष्ठ नेता समेत रहेका एक मन्त्रीले अन्नपूर्णसँग भने। एमालेका एक नेताका अनुसार दाहालले आफनो नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने पार्टीको निर्णय धम्की मात्रै थिएन,सरकार परिवर्तन गर्ने रणनीतिमा आधारित थियो। 'बामगठबन्धन भत्काउने योजना अनुसार दाहाललाई पात्रको रुपमा अगाडि सारिएको थियो'एमालेका ती नेताले भने।
'संविधान बन्ने क्रममा जुन जुन तत्व र प्रबृत्तिले व्यवधान खडा गर्न खोजेका थिए अहिले कार्यान्वयनमा पनि तिनै तत्वले व्यवधान खडा गर्ने प्रयास गरिरहेका छन। हामीले राष्ट्रिय एकता प्रदर्शन गर्न सकेनौ भने मुलुक दुर्घटनामा पर्ने खतरा छ, संविधानलाई जनता र समाजको जीवन व्यवहारमा एकाकार हुने गरी प्रयोग गर्न सकिएन भने कागजको खोष्टो सावित हुनेछ' दाहालले बिहीबार राजधानीमा एक कार्यक्रमबीच भने 'राष्ट्रिय एकता र राष्ट्रिय सहमतिको कुरा गर्दै गर्दा विगतको जस्तै सरकार बनाउने र गिराउने खेलतिर कुदने,त्यहि रुपमा हिडने प्रबृत्ति अहिले पनि छ।
यो वीचमा संसदको सबै भन्दा ठूलो दल काँग्रेसका नेताहरुले एमाओवादी नेतृत्वमा सरकार बनाउन तयार छौ भन्नुभयो। काँग्रेसका नेताहरुलाई मैले धन्यवाद दिएको छु। कम्युनिष्ट पार्टीको नेतालाई सरकार बनाउन तयार हुनु आफैमा सकारात्मक कुरा हो। त्यसले मात्रै समस्याको समाधान हुँदैन। अरु राजनीतिक दल पनि राष्ट्रिय सहमतिको सरकार गठन गर्न तयार हो त ? हो भने त्यो राम्रो कुरा हो।'
प्रधानमन्त्री ओली निमन्त्रणा पाएर पनि अनुपस्थित रहेको कार्लमाक्र्स द्धिशतबार्षिकी समारोह आयोजक समितिद्धारा बिहिबार काठमाडौमा आयोजित कार्यक्रममा दाहाल बोल्दै थिए। दाहालले बुधवार बिहान पदाधिकारीको बैठकपछि आफैले जारी गरेको बिज्ञप्तिको खण्डन गर्दै भने 'पद वा नेतृत्वको आँकाक्षाका कारणले अहिले बनिराखेको प्रक्रियामा अवरोध ल्याउने उद्देश्य थिएन।'
आफनो नेतृत्वमा सरकार गठन गर्न काँग्रेसको समर्थन जुटाएर एमालेको समर्थन खोज्न दाहाल बुधवार राती बालुवाटार पुगेका थिए। सरकार बाहिर रहेका काँग्रेस र मधेशी दल र सरकार भित्र रहेका एमालेसहितका सबै दलहरु वीचमा राष्ट्रिय सहमति कायम गरी अगाडि बढने प्रयासलाई निरन्तरता दिने पक्षमा आफूहरु रहेको दाहालले बताए।
उनले भने 'नीति कार्यक्रम र बजेट प्रस्तुत गर्ने समय छ। यो वेलामा अरु भ्रम नहोस। राष्ट्रिय सहमतिमा हाम्रो जोड हो। तर यसले धेरै ठूलो तरंग ल्यायो।' दाहाललाई ओलीलाई बिस्थापित गरी अगाडि बढन देउवाले बिहिबार बिहान उनकै निवासमा पुगेर आग्रह गरेका थिए भने एमाले उपाध्यक्ष बामदेव गौतम र बरिष्ठ नेता झलनाथ खनालले चार महिनापछि एमालेकै समर्थनमा प्रधानमन्त्री बन्न तयार हुन आग्रह गरेका थिए।
दाहाललाई फकाउन ओली एक्लैले नसकेपछि बुधवार स्थायी समितिको बैठकबाट गौतम र खनाललाई जिम्मा दिइएको थियो। एमाले स्थायी समितिको बैठकमा दाहाललाई मिलाएर लैजान नसकेको,आफू एक्लै हिडन खोजेको आरोप नेताहरुले ओली माथि लगाएका थिए भने ओलीले आफूले हरेक दुई दिनमा एक पटक दाहालसँग निरन्तर छलफल गर्दै आएको जवाफ दिएका थिए।
खनाल,गौतम,माधवकुमार नेपाल समेत दाहाललाई सम्झाउन परिचालन गर्न लगाउनु परेपछि ओलीको दम्भ घटेको एमाले नेताहरुको बुझाइ छ। काँग्रेसका नेताहरु भने चिनिया कुटनीतिज्ञले सत्ता गठबन्धनलाई नभत्काउन सुझाव दिएपछि दाहाल पछाडि हटेको सूचना पाएका छन।
चिनिया कुटनीतिज्ञले बिहिबार बिहान दाहाललाई भेटेका थिए। देउवाले भारतीय योजना अनुसार दाहाललाई सरकारको नेतृत्वमा समर्थन गरी एमाले एमाओवादी गठबन्धन भत्काउन खोजेको रुपमा एमाले र एमाओवादीका नेताहरुले आ आफना पार्टी भित्र धारणा व्यक्त गरेका छन।
श्रोत -annapurnapost.com
'प्रधानमन्त्री'ओलीको पद यसरी जोगियो

0 comments
Write Down Your Responses