सिरहा–प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको गाउँ जिवामा शुक्रबार भएको डकैती अहिले चर्चाको बिषय बनेको छ । सिरहा जिल्ला अन्तर्गत रहेको मिर्चैया नगरपालिका–७ जिवामा शुक्रबार राती करीब १ बजे १५ जनाको समूहमा आएका नकाबधारी डाँकाको समूहले बम विस्फोट गराउँदै डकैती गरेका हुन् ।
डाँकाहरुले मिर्चैया नगरपालिका–७ का राजाराम यादव, रामेश्वर यादव र प्रकाश तिवारीको घरबाट गरी लाखौंको धनमाल लुटेर लगेका छन् । डाँकाहरुले नगद, सुनचाँदीका गरगहना, मोबाइल, ल्यापटप र अन्य जिन्सी सामान गरी अन्दाजी १० लाख बराबरको धनमाल लुटेर लगेको पिडितहरुले बताए पनि ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक श्याम सिंह चौधरीले करिब ३ लाख बराबरको नगद र सरसमान लुटेर लगेको बताएका छन् । यस सम्बन्धमा अनुसन्धान भइरहेको उनले थपे ।
डाँकाहरुले नागरिकता, प्रमाणपत्र, जन्मदर्तालगायतका अन्य घरायसी प्रयोजनका सामानहरु लुटेर लगेको ठाउँ देखाउँदै स्थानीय
डाँकाहरुले प्रकाश तिवारीको घरबाट चार तोला सुन, नागरिकता, प्रमाणपत्र, जन्मदर्तालगायतका अन्य घरायसी प्रयोजनका सामानहरु लुटेर लगेका छन् । त्यस्तै, राजाराम यादवको घरमा दश हजार रुपैयाँ बराबरको सरसामान लुटपाट गरेका छन् भने रामेश्वर यादवको घरबाट नगद, एक थान ल्यापटप, दुई तोला सुन, २४ तोला चाँदी, मोवाइल र अन्य समानहरु लुटेका छन् ।
घटनास्थलभन्दा १ किलोमिरट इलाका प्रहरी कार्यालय
ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट करीब एक किलोमिटरको दुरीमा घटनास्थल पर्छ । समयमा प्रहरी घटनास्थलमा नपुगेपछि डाँकाहरु लुटपाट गरी भाग्न सफल भएको स्थानीयवासीहरुले बताए । प्रहरीलाई खबर गरेपनि समयमा नआएकोले प्रहरीमाथि पनि शंका उत्पन्न भएको पिडित राजाराम यादवले आरोप लगाए ।
डकैती भइरहेको जानकारी ईलाका प्रहरी कार्यालयमा गराउँदा पनि ड्युटीमा रहेका प्रहरीले अर्को नम्बरमा फोन गर्नुस् भन्दै फोन काटेको स्थानीयको आरोप रहेको छ । डकैती भइरहेको जानकारी गराएको भएपनि प्रहरी एक घण्टाभन्दा ढिलो गरी मात्र घटनास्थलमा पुगेको पिडितहरुले गुनासो गरे । खबर गरेपछि छिटो किन नआउनुभएको भनेर प्रहरीलाई भन्दा ‘आफूलाई पनि ज्यानको डर रहेको भन्दै पन्छिन खोजे’ स्थानीयले थपे ।
यता, ईलाका प्रहरी कार्यालय मिर्चेयाका प्रहरी नायब उपरिक्षक श्यामसिंह चौधरीले घटनाको जानकारी पाए लगत्तै आफू घटनास्थलमा पुगेको बताए । उनले भने, ‘मलाई राती १ बजेर ५२ मिनेटमा फोन आयो र म २ बजे घटनास्थलमा पुगे । तर, डाँकाहरु भगिसकेको थियोे ।’
घाइते भएकी राजाराम यादवको बहिनी अन्दाजी ३५ वर्षीय ललितादेवी यादव
प्रतिकार गर्दा एक महिला घाइते
डाँकाको प्रतिकार गर्दा राजाराम यादवको बहिनी अन्दाजी ३५ वर्षीय ललितादेवी यादव घाइते भएकी छिन् । आफू निन्द्रामा सुतिरहेको बेला डाँकाहरु आएर सुनचाँदी छिटो ल्याउ भन्दै गालीगलौज गर्दै कुटपिट गरेको घाइते महिला ललिताले बताए । आफूसँग केहि छैन् भनेर भाग्न खोज्दा डाँकाहरुले कुटपिट गरि घाइते बनाएको उनले सुनाइन् ।
बम विस्फोट गर्दै डकैती : स्थानीयवासी
करीब १५ जनाको समूहमा आएका नकावधारी समूहले बम विस्फोट गराउँदै त्रसित बनाएर डकैती गरेको स्थानीयवासीले बताएका छन् । डाँकाहरुले ३ वटा बम र करीब ४ राउण्ड गोली फायर गरेको उनीहरुले बताए ।
तर, समयमा प्रहरी घटनास्थल नपुगेपछि डाँकाहरु लुटपाट गरी भाग्न सफल भएको स्थानीयवासी बताउँछन् । स्थानीयवासीले भने, ‘बम पड्काउँदा हामी स्थानीयवासी डरले भाग्यौँ । प्रहरी समयमा नआउँदा डाँकाहरु लुटपाट गरी भाग्न सफल भएँ ।’
डाकाहरुले पेस्तोल, सकेट बम, लाठी, टर्च, बन्चरोलगायतका हतियारहरुले घरका सदस्यहरुलाई नियन्त्रणमा लिएर लुटपाट गरी फरार भएको पीडित रामेश्वर यादवले बताए । ‘डाँकाले आफूलाई पनि कन्चटमा पेस्तोल तेर्स्याई नियन्त्रणमा लिई लुटपाट गरेको’ पिडित रामेश्वरले बताए ।
प्रहरीको अनुसन्धान फितलो भएको पिडितको आरोप
डकैती भएको ३ दिन बिते पनि प्रहरीले अहिलेसम्म घटनाको नजिक पुग्न सकेको छैन । ‘यसबाट प्रष्ट हुन्छ कि प्रहरीको अनुसन्धान कमजोर छ’ पिडितले गुनासो गरे ।
घटनास्थल नेपाल प्रहरीका आइजिपी उपेन्द्रकान्त आर्यालको घर भन्दा करिब २ सय मिटर र ईलाका प्रहरी कार्यालय मिर्चैयाभन्दा करिब एक किलोमिटरको दूरीमा मात्र रहेको छ । ‘आईजिपी आर्यालको घरमा अन्य दिन राती अबेरसम्म ड्युटीमा रहने प्रहरी घटना भएको दिन त्यहाँ थिएनन्, यसबाट प्रहरीमाथि शंका उत्पन्न भइरहेको छ’ पिडित राजारामले बताए ।
आईजिपी उपेन्द्रकान्त अर्यालको घर ।
पिडित प्रहरी कार्यालय घेराउको तयारीमा
पिडितहरुले ४ दिन बिते पनि प्रहरीले अनुसन्धानमा तदारुक्ता नदेखाएकोले आफूहरु ईलाका प्रहरी कार्यालय मिर्चैयाको घेराउ गर्ने तयारी गरेको पिडितहरुले बताएका छन् । मिर्चैयाका प्रहरी नायब उपरीक्षक चौधरीले डकैतीको अनुसन्धानलाई सामान्य चोरीको घटना जस्तै अघि बढाएको भन्दै पीडितहरु आक्रोशित भएका छन् ।
अनुसन्धान तीब्र रहेकोले अपराधी छिटो नियन्त्रणमा आउने : डिएसपी चौधरी
शुक्रबार राती मिर्चैया–७ जिवामा भएको डकैतीको अनुसन्धान सुक्ष्म तबरले भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक श्याम सिंह चौधरीले बताएका छन् । घटनाको अनुसन्धान विभिन्न किसिमले भइरहेकोले अपराधी छिटो नियन्त्रणमा आउने उनले विश्वास व्यक्त गरे ।
घटनास्थलको प्रकृतिको समेत अध्ययन गर्दै अनुसन्धान गरिरहेको उनले थपे । अनुसन्धानको क्रममा केहि व्यक्तिलाई पक्राउ गरेपनि वास्तविक अपराधी नजिक नपुगेको र छिट्टै अपराधी नजिक पुग्ने उनले दाबी गरे । सुरुमा कुकुर ल्याएर अनुसन्धान गर्ने बताएपनि बर्षा भएकोले नल्याएको डिएसपी चौधरीले बताए ।
उनले घटनाको अनुसन्धान भईरहेको र केहि सामग्री समेत बरामद भएकोले चाँडै घटनाको सत्यतथ्य सार्वजनिक गर्ने बताए । यता, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक श्याम ज्ञवाली पत्रकारहरुले घटनाको बारेमा जानकारी लिन खोज्दा डकैती नभएर चोरी रहेको बताएका थिए । घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको एसपी ज्ञावालीले बताए ।
ratopati.com बाट साभार गरिएको
आईजिपी अर्यालको गाउँमा मध्यराती बम बिस्फोट गराउँदै डकैती

0 comments
Write Down Your Responses