४ जेठ, काठमाडौं । काठमाडौँस्थित अमेरिकी दूतावासले पर्यटक तथा विद्यार्थी भिसाका आवेदकका लागि कागजी प्रक्रिया घटाउने भएको छ ।
जेठ १९ गतेबाट लागू हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले भिसाको अन्तर्वार्ताका लागि उपस्थित हुँदा आवश्यक थोरै मात्र कागजपत्र ल्याए पुग्ने दूताबासले जनाएको छ ।
आवेदकहरूलाई सम्भावित छलकपटबाट जोगाउनका साथै उनीहरूको पैसा र समय बचत होस् भनी उनीहरूले अबदेखि बैंक मौज्दात विवरण, जग्गासम्बन्धी कागजात, निमन्त्रणा पत्र वा त्यस्तै अन्य कागजपत्र ल्याउनु पर्दैन । यस्ता प्रकारका दस्तावेजहरू ल्याएमा सुरक्षा इकाइको हातमा छाड्न लगाइने अमेरिकी दूताबासले जानएको छ।
जेठ १९ गते लागु हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले आफ्नो साथमा राहदानी, पुराना राहदानी, DS-160 कन्फर्मेशन पेज, आवेदन शुल्क भुक्तानी रसिद र फोटो ल्याउनु पर्न छ । यसैगरी I-20 (विद्यार्थी भिसा आवेदकका लागि) र ट्रान्स्क्रिप्ट (विद्यार्थी भिसा आवेदकका लागि) पनि आवश्यक पर्ने भएकाले अन्तर्वार्तामा ल्याउनुपर्छ ।
अमेरिकी दूतावासले अन्तर्वार्तामा ल्याइएका सम्पूर्ण शैक्षिक ट्रान्स्क्रिप्टहरूको प्रमाणीकरण गर्दछ ।
अमेरिकी दूतावासमा आवेदकहरूले हालैका महिनामा कन्सलटेन्सीहरूलाई अन्तर्वार्ताका लागि कागजपत्र तयार पार्न वा प्राप्त गर्न नगद रकम तिरेको र पछि त्यस्ता कागजपत्रहरू कन्सुलर अधिकृतहरूले नखोज्ने कुरा थाहा पाएको गुनासो गरेका थिए ।
कन्सलटेन्सीहरूले भिसा दिलाइदिने वाचा सहित आवेदकहरूबाट उनीहरूको पहिचानसम्बन्धी लगायत गोप्य सूचनाको चोरीमा प्रयोग हुनसक्ने कागजपत्र समेत लिने गरेको जानकारी दूतावासले प्राप्त गरेको छ ।
काठमाडौं, २ जेठ । फेसबुकको मायापिरतीले रामेछाप जिल्ला निवासी २५ वर्षीया अञ्जु सुनुवारले साइप्रसमा आत्महत्या गरेपछि ठूलो प्रश्न र आशंका जन्मिएको छ ।
सञ्जु दुई वर्षअघि घरेलु कामका लागि साइप्रस पुगेकी हुन् । उनले शनिबार झुण्डिएर ज्यान दिएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसका अध्यक्ष सुबास मल्लले बताएका छन् ।
अञ्जु साइप्रसको लिमासोलमा बस्दै आएकी थिइन् । अध्यक्ष मल्लका अनुसार सुनुवारको शबलाई पोष्टमार्टमका लागि अस्पताल लगिएको र घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
अञ्जुले झापा घर भएका निशान राईका कारण आत्महत्य गरेको राजमाया सुनुवारले आरोप लगाएकी छिन् । अञ्जुसँगै साइप्रसमा रहँदै आएकी राजमायाले भनिन्, ‘झापा घर भएको निशान राईसँग फोनमा झगडा परेको थियो । त्यसपछि निराशी थिइन् । पछि झुण्डिएर आत्महत्या गरिछन् ।’
फेसबुकबाट मायापिरत बसेका अञ्जु र निशानबीच पछिल्लो समय टकराव चल्दै आएको थियो । निशानले अञ्जुलाई फोन गरेर पैसा माग्ने र विभिन्न खालका ब्ल्याकमेलिङ गर्ने गरेको आरोप राजमाया सुनुवारको छ ।
साइप्रस जानुअघि अञ्जु र निशानबीच फेसबुकमार्फत प्रेम भएपछि नियमित भेटघाट हुँदै आएको थियो ।
थुप्रै फेक फेसबुक आइडी बनाएर युवती फसाउँदै हिँड्ने गरेका झापाका निशान राईकै कारण अञ्जुले आत्महत्या गरेको राजमायाको भनाइ छ । यतिसम्मकी निशानले अञ्जुका नाङ्गा तस्बिर सार्वजनिक गर्नेसम्मका धम्की दिएर पैसा असुल्दै आएको खुलेको छ ।
निशान राईकै कारण साइप्रस जाँदा लागेको ऋण अञ्जुले तिर्न सकेकी छैनन् । पैसाभरि सबै निशानलाई पठाउने गरेका कारण ऋण तिर्न नसकिएको राजमाया सुनुवारको भनाइ छ ।
राजमाया र अञ्जु सन् २०१४ को सेक्टेम्बरमा साइप्रस रोजगारीका लागि पुगेका थिए । उनीहरू प्रतिव्यक्ति करीव पाँच लाख रुपियाँ सामाखुसीस्थित केआईआई म्यानपावर कम्पनीमार्फत साइप्रस गएका हुन् ।
प्रिय धुर्मु/सुन्तु
श्रद्दाका सलामीहरु अनि धेरै धेरै माया,
हिजो तिमीहरु दुबैले डोको भरी ढुंगा बोकेको टेलिभिजनमा देख्दा यस्तो लाग्यो म पनि नेपालमै भएको भए तिमीहरुको पवित्र काममा कति उर्जा दिँदै होस्टेमा हैँसे मिलाउने थिएँ होला । तिमीहरुले बोकेको डोको उठाईदिएर बोझ हल्का पारिदिन्थे होला । तर टाढाको भुगोलमा भएकोले प्रशंसा र सहानुभूतिले मात्र चित्त बुझाउँदै छु ।
अचेल म निरन्तर चिठ्ठी लेखिरहेको छु: राजनीतिका मुख्यमुख्य पात्रहरुलाई तर पनि उपलब्धि शून्य प्राय: छ । राजनीति बिग्रिएको छ उहि कुरा क्षणमै सेतो र क्षणमै कालो भईरहेको छ । सबै जना आफ्नो पोल्टा भर्ने बेलामा तिमीहरु त फेरि भग्नावशेषको वस्ती गिरान चौर पो पुगेछौ गिरेका घरहरु र मनहरु ठाडो पार्न अनि तिनीहरुकै बारेमा मैले लेखिन भने मेरो कलमको धर्म कसरी पूरा हुने भो र ! त्यसैले मध्यरातमा जागेर तिम्रै बारे केहि प्रशंसा त केहि सहानुभूति र शुभकामनाका वाक्यहरु कोर्न खोजिरहेको छु ।
प्रिय धुर्मु/ सुन्तु
साँच्चै ! तिमीहरु त बडो बलवान पो रहेछौ, महाभारतको पात्र भिमले जस्तै डोकोभरि ढुंगा बोक्न सक्ने ! तिमीले ढुंगा बोक्दै गर्दा न मैले कुनै अभिनय देखेँ न त कुनै अभिमान: बरु देखेँ त तिमीहरुको दृढ लगनशीलता र अन्तरमनको त्याग । सायद राजनीतिज्ञ हुन्थे भने घाँटीभरि माला र खादाले सजिएर रिबन काट्दै गर्थे होला अथवा दुईचार वटा घर बनाउन पुग्ने रकम हेलिकोप्टर र भत्तामा खर्च गर्थे होला । साँच्चै आज गर्व लाग्छ तिमीहरु बारे लेख्दा मेरो कलम पनि कति प्रफुल्ल भईरहेको छ । कलमले पनि आज आफैलाई भाग्यमानी ठानिरहेको छ ।
म तिमीहरुको यो परोपकारमा भौतिक रुपमा त सहभागी हुन सकिन तर नैतिक र आर्थिक रुपमा सहभागि हुन भने अवष्य चाहन्छु, म चाहन्छु गिरान चौरमा मेरो पनि पसिनाले मुछेर बनेका केहि ईटहरु थपिऊन्, म मात्र हैन म जस्ता बिदेशमा बसेर पनि हर क्षण नेपाल देख्ने र दुख्ने मनहरुका पनि पनि रगत र पसिनाले मुछेर हार्दिकताले पकाएका ईटहरु थपिऊन् भन्ने मेरो आशय हो ।
हो, तिमीहरुले ढुंगा मात्र कहाँ हो र चुनौतिको पहाड उचालेका छौ, ढलेका मन उचालेका छौ, देशको लागि केहि गर्न नसक्ने नालायक नेतृत्वहरुलाई नैतिक झापड हुने गरि एउटा गतिलो संकल्प उचालेका छौ , बिदेशिएका आधा करोड युवाको तर्फबाट म तिमीहरुलाई प्रोत्साहन र प्रशंसाका गुच्छाहरु अर्पण गर्न चाहन्छु । र तिमीहरुको पवित्र कामको सफलताको शुभकामना दिन चाहन्छु ।
हो धुर्मु/ सुन्तु तिमीहरुको सोच महान् थियो: भुकम्पले आफन्त गुमाएको बेला जनता हँसाउनु उचित हुने थिएन , मान्छेहरु घरवार बिहीन भएको बेला बिदेश घुम्नु उचित थिएन त्यसैले तिमीहरु अमेरिकाबाटै फर्क्यौ, मान्छेको सपनाको देशबाट फर्क्यौ र घाईतेहरुको मलहम पट्टिगर्न तल्लीन भयौ, त्यसैले त सबैको प्रिय बन्यौ ।
तिमीहरु एउटा गरीबको बस्ती बनाउन यति अटल भईरहँदा सरकारमा बसेकाहरु भागबन्डामै बितन्डा मच्याएको देख्दा यस्तो लाग्छ: धुर्मु/ सुन्तु ! तिमीहरु हाम्रो प्यारो नेता बनेर किन जन्मेनौ ? साँच्चै तिमीहरुले बनाएको बस्ती जस्तै हामीले भोगेको राजनीति पनि नमूना भईदिएको भए ! तिमीहरुकै निगाहले गर्दा धेरै भत्किएका मनहरुले यो दसैंमा आफ्नै घरमा बसेर टीका थाप्दा पाएका आशिर्वादहरुले तिमीहरुलाई कति भाग्यमानी बनाउला है ! त्यो वस्तीमा आफ्नो गच्छे अनुसार सहयोग गरेर धेरै परोपकारी मनहरुले केहि न केहि आशिर्वाद पाऊन् भन्ने मेरो पनि चासो हो ।
अन्तमा तिमीहरुको आदर्शले कहिल्यै नहारोस्, तिम्रो पवित्र समाजसेवामा कसैले औला नठड्याओस र तिमीहरुको यो पुण्य कामलाई गिरानचौर मात्र हैन हरेक सहृदयी मनहरुले सधै संझिरहने छन् । तिमीहरु अहोरात्र खटिरहँदा राज्यका सरोकारवाला निकायको तन्द्रा भंग होस भन्दै तिमीहरुको पवित्र कामको सफलताको लागि लाखौँ लाख कामना गर्दछु ।सहयोगी मनहरुलाई दिल खोलेर सहयोग गर्न यो लिंक पनि शेयर गरेको छु ।
काठमाडौं – अमेरिकाको लसभेगासस्थित एसडी मार्केटमा हुने अन्तर्राष्ट्रिय एक्सपोमा नेपालबाट नेपलिज दि कलेक्सन प्रालिले सहभागिता जनाउने भएको छ । अफोर्डेबल सपिङ डेष्टिनेशन (एएसडी) मा हुने उक्त मेलामा नेपालको तर्फबाट सहभागि हुने नेपलिज दि कलेक्सनले यस अघि ३ पटक सहभागिता जनाइसकेको छ ।
अमेरिकी सरकारले नेपालबाट निर्यात गरिने सामानमा छुट दिएको अबसरलाई सदुपयोग गर्दै ह्याण्डी क्राफ्ट, पश्मिना, सिल्भर ज्वलरी, अर्गानिक उत्पादन, थांका, उडन क्राफ्ट, गार्मेन्टस लगायत दर्जन बढी नेपाली उत्पादन प्रदर्शनीमा ब्यापारका लागि राखिने एएसडीका नेपाल प्रतिनिधी जुनी बज्र बज्राचार्यले बताए । एसडी मार्केटमा हुने उक्त मेलामा हस्तकलाको मुल्य, डिजाइन कन्सेप्टको मुल्य ग्राहले तिर्ने र ब्यापारीका लागि इम्पोटर्स खोजी दिने कार्यसमेत गरिने बताइएको छ ।
एसडी मार्केटमा भएको पहिलो संस्करणमा २ वटा, दोस्रो संस्करणमा ३ वटा र तेस्रो संस्करणमा ५ वटा स्टल राखेर नेपालको प्रतिनिधित्व गरेको र यसपटक अन्य ब्यबशायीले पनि भाग लिने पक्का भएकोले १० वटा स्टलमार्फत नेपाली उत्पादन बिश्व बजारमा चिनाउन सजिले हुने बज्राचार्यले बताए ।
लस भेगासमा हुने यस एक्सपोमा ४५ हजार भन्दा बढी स्टलमा २७ सय भन्दा बढी कम्पनीहरुले सहभागिता जनाउने छन् । ९५ देशको सहभागिता रहने यो मेला ५५ बर्षदेखि चल्दै आएको छ ।
बिदेशीहरुले नेपाली उत्पादनलाई मन पराउँदै गएको र बिशेष गरि हातबाट बनेका सामानको माग बढि रहेको र यस्तो सामान मार्फत नेपाली निर्यातकर्ताले गुणस्तर कायम गर्न सके राम्रो हुने एएसडी मेलाका इन्टरनेशनल बिजनेश डेपलपमेन्ट मेनेजर स्टेफन स्ट्यागलियानोले बताए ।
होलसेल बजारमा चीनको प्रभाब राम्रो भएपनि आर्ट एण्ड क्राफ्ट डिजाइनमा नेपाल अझैपनि नम्बर एक रहेको बताउँदै स्टेफनले मेशिनबाट बनेको सामान भन्दा हातबाटै बनेको सामानप्रति खरिदकर्ताको चासो रहेको बताए ।
यस अघि भएको एक्सपोमा नेपालको तर्फबाट २० भन्दा बढी ब्यबशायीको सहभागिता रहने बताउँदै नेपालका लागि बिक्री प्रबन्धक सदिक खानले यो पटकको सहभागिता दोब्बर हुने जानकारी दिए ।
स्रोत-www.ratopati.com
सरकारले आफ्नो नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीमा जानेहरुलाई लक्षित गरी केही कार्यक्रमहरु समेटेको छ ।
सरकारले वैदेशिक रोजगारीमा गएर फर्केकालाई आन्तरिक श्रम बजारमा पुनर्स्थापित गर्ने घोषणा गरेको छ । त्यसका लागि युवाले विदेशमा सिकेको सीपको परीक्षण गरेर सरकारले प्रमाणपत्र जारी गर्ने भएको छ । यसबाट स्वदेशमै युवाले सीपका आधारमा रोजगारी पाउने सरकारको विश्वास छ ।
विदेशमा पठाउँदा सीपमुलक तालिम दिने कामलाई प्राथमिकता राख्ने सरकारको भनाइ छ । यस्तै विदेशबाट आउने रेमिट्यान्स र फर्किएका युवासँग रहेको सीप, दक्षता र क्षमतालाई सदुपयोग गर्न रोजगारी दिलाउन नीतिगत व्यवस्था गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।
जनताको लगानीमा जलविद्युत आयोजना बनाउँदा वैदेशिक रोजगारीमा रहेकाहरुको लगानीलाई प्राथमिकता दिने घोषणा पनि सरकारले गरेको छ । स्वरोजगार कोषमार्फत सहुलिय दरमा ऋण दिएर वार्षिक ५० हजार युवालाई रोजगारीको सिर्जना गर्ने सरकारले बतााएको छ ।
श्रोत - news24
– मिनबहादुर पण्डित
८ बर्ष सिन्को नभाची तलब र भत्ता खायौ ।
बन्द र हड्ताल गरेर मजदुरी गरिखानेलाई समेत गाह्रो बनायौ ।
बार्ता र सहमति भन्दै समय बर्बाद गर्यौ ।
बचेको समय पार्टीको काम र विदेश भ्रमणमै बितायौ ।
जनताको लागि कुनै एउटा गतिलो काम गर्न सकेनौ ।
तलब, रासन भत्ता, दैनिक भत्ता, विदेश भ्रमण भत्ता, कमिसन, घुस, छोराछोरी पढाउन बिदेशी छात्रबृति, सुत्केरी भत्ता, बिदेशमा उपचार खर्च, घर भाडा, पेट्रोल खर्च, प्रिय भत्ता, श्रीमती र आफन्तलाई जागिर, आफू र आफन्तको लागि बिजनेस गर्ने लाइसेन्स, के–के हो के–के ?
लेखक
यत्रो सुविधा लिएर सभासद बनेको १ बर्षमै काठमाडौंमा घर र पोजेरो गाडी किन्यौ, अझ पेन्सन पनि चाहिने ? अलिकति लाज र सरम छैन ? यति मात्रले पुगे त् हुन्थ्यो नि, पासपोर्ट बेच्ने, अपरहण गर्ने, हत्या गर्ने, फिरौती लिने, तस्करी गर्ने, बलात्कार आदि अनेकौ गैरकानुनी काम सभासदहरुले गरे र रचनात्मक भूमिका खेल्नुको सट्टा, सदनमा हल्ला गर्नु र कुर्सी भाच्नु त सामान्य कुरा नै भै हाल्यो ।
जनता पाल मुनि बस्न बाध्य छन, त्यहि पाल पनि पाएसम्म पजेरो गाडी छोप्छौं तर, जनतालाई दिँदैनौ र भूकम्प पीडितको चामल कुहिएर फालिन्छ तर आ–आफ्नो निर्बाचन क्षेत्रमा बाड्ने संयन्त्र बनाउन भूमिका खेल्न सक्दैनौ । आखिर सभासदको काम र जिम्मेबारी के हो ?
राजनीति जागिर हो र पेन्सन दिन ? राजनीति देश र जनताको सेवा हो कि कमाई खाने भाडो ? अनि तिमीहरुलाई चाँही पेन्सन, जनतालाई चाँही सधै टेन्सन ? पेन्सन लिनलाई राज्यको कत्ति राजस्व बढायौ ? पेन्सन दिन सक्ने राज्यको हैसियत बनायौ ? राजा विरेन्द्र मर्नाले गणत्रन्त्र आयो तर तिम्रो गणत्रन्त्रले जनतालाई चाँही के दियो ? न शान्ति सुरक्षा, न रोजगारी न त बत्ति पानि । सारा नेपालीका छोराछोरी खाडीमा जान बाध्य छन् र अनि तिमीहरुलाई चाहि पेन्सन दिनुपर्ने कारण चाँही के नि ? पेन्सन होइन, गरिखाउँ र गरि खानदेउँ । यसमै सबैको भलाइ छ ।
स्रोत-dainiknepal.com
२५ वैशाख, काठमाडौं । नेपालबाट विदेशिने घरेलु कामदारले कम्तिमा ३ सय डलर वा सोही बराबरको तलव पाउने भएका छन् ।
संशोधनको अन्तिम तयारी भइरहेको घरेलु कामदार विदेश पठाउने सम्बन्धी निर्देशिकामा सरकारले न्युनतम् तलब ३ सय डलर वा सोही बराबर हुनुपर्ने व्यवस्था गरेको हो ।
नेपालबाट बाहिररिनेमध्ये अधिकांश महिला घरेलु कामदार छन् । यसअघि महिला घरेलु कामदारको तलव तलब कम्तिमा २ सय ५० डलर मात्रै थियो ।
अहिले पारिश्रमिक शर्तमा ५० डलर वृद्धि गरिएको श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले अनलाइखबरलाई जानकारी दिए । ‘अब घरेलु कामदारको श्रम इजाजत खुल्नासाथ यो लागू हुन्छ’ प्रवक्ता भूर्तेलले भने-‘तोकिएको भन्दा कम तलव दिए वा हाम्रा विभिन्न शर्तहरु पालना भएनन् भने घरेलु कामदार पठाउँदैनौं ।’
कामदार जिम्मा म्यानपारले जिम्मा लिनुपर्ने
सरकारले मलेसियासहितका खाडी मुलुका घरेलु कामदार पठाउँदा म्यानपावरहरुलाई पूर्ण जिम्मेवार बनाउने भएको छ । घरेलु कामदारका नामा मानव तस्करी मौलएपछि सरकारले म्यानपावरहरुलाई नै जिम्मेवार बनाउने गरी निर्देशिकामा विभिन्न व्यवस्थाहरु प्रस्ताव गरेको छ ।
घरेलु कामदारका रुपमा गएका नेपाली विदेशबाट शोषणमा परेर फर्किनुपरेमा क्षतिपूर्ति र उद्धार खर्च म्यानपावरबाटै भराउने व्यवस्था निर्देशिकामा गरिएको छ ।
यो व्यवस्थाले म्यानपावरले विदेशबाट रिक्रुटमेन्ट कम्पनीबाट जथाभावी डिमान्ड ल्याएर कामदारलाई फसाउने क्रम बन्द हुने मन्त्रालयको अपेक्षा छ ।
‘कामदारलाई पठाएपछि म्यानपावरकै भूमिका सकिँदैन । आफुले पठाएको घरेलु कामदार स्वदेश नफर्केसम्म व्यवसायी पनि जिम्मेवार र चनाखो हुनुपर्छ,’ प्रवक्ता भुर्तेलले भने-‘अब जथाभावी डिमान्ड ल्याउन पनि हुँदैन, रिक्रुटमेन्ट कम्पनीसँग म्यानपावरले घरेलु कामदारका लागि सुरक्षित घर खोज्न भन्नुपर्छ ।’
एक कामदारका लागि १ हजार डलर धरौटी
संशोधन हुन लागेको निर्देशिकामा विदेशमा नेपाली कामदार माग गर्ने रिक्रुटमेन्ट कम्पनीले सम्बन्धित देशमा रहेको नेपाली दूतावासमा १० हजार डलर धरौटी राख्नुपर्ने व्यवस्था कायमै राखिएको छ ।
अब ती कम्पनीले एक नेपाली घरेलु कामदार बराबर एक हजार डलर धरौटी पनि राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ । ‘हाम्रा कामदार पीडित भए त्यही रकम दिलाउँछौं’ प्रवक्ता भुर्तेलले भने-‘यसबाट नेपाली महिला घरेलु कामदारको सुरक्षा र हितमा महत्वपूर्ण सहयोग पुग्नेछ ।’
घरेलु कामदारको हित तथा सुरक्षा र हितमा केन्दि्रत भएर सरकारले निर्देशिका विभिन्न ६ वटा शर्तहरु पनि राखेको छ । यो निर्देशिका लागू गरेर केही दिनभित्रै घरेलु कामदार विदेश पठाउन खुला गर्ने सरकारको योजना छ ।
सरकारले साउदी अरेबिया, जोर्डन र लेबनानसहित विभिन्न मुलुकसँग घरेलु कामदार लैजानेबारे सरकारी तहको समझदारी गर्ने तयारी पनि गरिरहेको छ ।
२०७३ वैशाख २५ गते १०:१० मा प्रकाशित
स्रोत - onlinekhabar.com
२३ वैशाख, काठमाडौं । साउदी अरेबिया सरकारले १० लाख विदेशी कामदार थप गर्न स्वीकृति दिएको छ । विभिन्न १० वटा रिक्रुटमेन्ट कम्पनीलाई एक-एक लाख कामदार ल्याउन पाउने गरी त्यहाँको श्रम मन्त्रालयले एकैपटक अनुमति दिएको हो । saudi-arebia
मन्त्रालयलाई उदृत गर्दै अल वतन पत्रिकाले १० लाख कामदार भित्र्याउन अनुमति दिइएको खबरलाई विभिन्न सञ्चारमाध्यमले पनि लेखेका छन् ।
यसबाट मलेसियाले कामदार लिन बन्द भएपछि प्रभावित भएको नेपालको वैदेशिक श्रम बजारमा पनि सहयोग पुग्नेछ । नेपाली कामदारका लागि पनि साउदीमा अवसरहरु बढ्ने छन् ।
साना उद्योगमा माग बढ्ने
अब थप हुने १० लाख विदेशी कामदार साना तथा मध्यम स्तरका उद्योग तथा ब्यापारिक र्फममा उपयोग गरिने जनाइएको छ । अहिले साउदीमा साना कम्पनीहरुमा कामदारको अभाव चुलिएको छ ।
साउदी कनडा परिषदका अध्यक्ष इमाद अल दुकाइरले सरकारको नयाँ निर्णयले साना उद्योगहरुमा रहेको कामदार समस्या समाधान हुने विश्वास व्यक्त गरे । अब साउदीमा थपिने कामदारहरुले साना उद्योगहरुमा रोजगारी पाउनेछन् ।
फ्री भिसाको ठगी रोक्ने
कम्पनीहरुलाई ३० प्रतिशत भिसा बढाउने अधिकार दिँदै सरकारले यस्तो निर्णय गरेको हो । साउदीको श्रम मन्त्रालयले फ्री भिसा लिएर पनि मानव तस्करी भइरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न पनि यो कदम उठाएको बताएको छ ।
अहिले साउदीका धेरै कम्पनीले कामदारलाई फ्री भिसा दिएको भनेपनि कामदारहरुले भने त्यस्तो सुविधा नपाएको गुनासो गर्ने गरेका छन् ।
साउदी सरकारले फ्री भिसाको पनि ब्यापार हुने क्रम बढेको भन्दै त्यसलाई नियन्त्रण गर्ने जनाएको छ । यसमा दोषि ठहरिएकालाई १५ वर्षसम्म जेल सजायँ र १ लाख साउदी रिंगेटसम्म जरिवाना गर्ने निर्णय भएको छ ।
२०७३ वैशाख २३ गते १४:३७ मा प्रकाशित
onlinekhabar.com बाट
– विजय थापा
वाशिंगटन डिसी । अमेरिका अचम्मको देश । सार्हो राम्रो देश । मानिस मख्ख छन । सर्वस्व बेचेर भए पनि अमेरिका आउन सबै उत्सुक छन् । तर पुर्पुरोमा लेखेका मात्रा अमेरिका आउछन । सपरिवार अमेरिका सराई बसाइ गर्न अनेकौ उपायबाट नेपालीहरु पस्न थालेका छन् ।
सपनाको संसार सबै नेपाली आए पनि अमेरिकामा अट्ने ठाउँ सुरक्षित छ । यस्तो दिन पनि आउला कि भन्ने पनि छ । ईश्वरले हाम्रो आवाज सुनी दिउन । अमेरिका आए पछि मानिसलाई ओत चाहिन्छ । अस्थाई रुपमा आफन्त ,ईष्ट मित्र ,साथीभाई ,शुभ चिन्तक तथा परिवारले बासको व्यवस्था गरि देलान । तर सधै भरि बुई चढेर हिड्न पाईदैन । अरु संग जुका टासिएको जस्तो गर्न पाइदैन । अमेरिकाको व्यस्त जीवनको कारण मानिसले आफ्नो व्यवस्था आफै गर्नु पर्छ । अमेरिका टेके पछि सबै भन्दा समस्या छाप्रोको हुन्छ । यो नभै कन सुकुम्बासी भै रहन सकिदैन । खुला आकाशमा जीवन चल्दैन । एउटा टहरो अपरिहार्य छ ।
अमेरिकामा नेपाली समुदाय ज्यादै हुन् थालेकोले अमेरिका पनि घर किन्न नेपालीलाई पनि सजिलो हुन् थालेको छ । सरल र दाउ पर्ने अवस्था आई सकेको छ । अधिकांशले नेपाल बाट बेचेर ल्याएको सम्पत्ति यता घर किन्ने परिपाटी बढेको छ । नेपालीहरुजे भए पनि नेपालमा राम्रो घर र व्यवस्थित रुपमा बसेका हुनाले यहाँ घर चाहिन्छ । छाप्रो नहुन्जेल औडाहा हुन्छ र रातभर निद्रा लाग्दैन ।
नेपाली समुदायको जन घनत्व दुई दशक देखि व्हात्त बढेको छ । नेपालका आफ्ना परिवार ,आफन्त ,कुटुम्ब ,नातेदार ,टोल ,गल्लि र छिमेकि सबैका मानिस अमेरिका कुनै उपायले आएका छन् । छ्याप छ्याप्ती नेपालीहरु भएकोले अब अमेरिकामा घर किन्न पनि सर सापटी लिन पाईने भएको छ । छाप्रो किन्न भने पछि पैसा लेनदेन पनि हुन् थालेको छ । अमेरिकामा घर किन्न बैंकले ऋण दिन्छ । यसको लागि आफ्नो ख्याती (क्रेडिट)राम्रो बनाए पछि घर किन्न पाईन्छ ।
एक मुष्ट रकम आफुले निकाल्नै पर्छ । अन्तिम अवस्था सम्म निकै बिबिध तथा अदृश्य रकम निकाल्नु पर्ने हुनाले आगुम साल दिउला ,नेपालको खेति बेचर दिनेछु ,दशैमा नेपाल गएर पैसा सगोलको सम्पत्ती बेचेर दिन्छु ,नेपालको घर बैंकमा राखेर दिउला ,खेतिको आयस्ता आउछ ,ससुरालीले दिन्छन ,श्रीमतीको माइत बाट आउछ भनेर पनि घर अमेरिकामा उधारो लिएर किनी रहेका पनि छन् ।
आफ्नो क्षमता भन्दा बढी रकम भएको घर किन्नै पर्ने अवस्था भए पछि आफन्त ,परिवार भित्र ,नातागोता ,कुटुम्ब ,साथीभाई ,दाजुभाई ,दिदीबहिनी ,काका,मामा ,बढा वा ,भिनाजु ,साला ,साली ,तल्लो घरे काईला ,माथ्लो घरे जेठा बा ,हजुर बुवा ,साढु भाई ,माथिल्लो गाउँको जुंगे दाई ,तल्लो टोलको चिनेको दाजु ,फुपू ,भिनाजुको साथी ,मामाको काका ,भाईको सालो को भिनाजुको काका आदी ईत्यादीको साईनो भएकालाई समेत छाप्रो किन्न पुगेन भनेर मागिन्छ । दिने चलन पनि छ । दिन्छन पनि । यसरी नेपाली सामुयय मात्र हैन अरु समुदायले पनि अनेक जुक्ति लगाई तानतुन गरि अपुग रकम जुटाउने गर्छन ।
आफुलाई पनि यस्तै पर्ने होला भनि दिने चलन सुरु भै सकेको छ । दिएको पैसा बेइमान चाही अमेरिकामा कल्पना नगरे पनि हुन्छ । उल्टो पैसा सापट लिएर गुन्डा लगाउन अमेरिकामा चल्दैन ।
तपाई पनि अमेरिकामा आए पछि घर किन्न चाहनु हुन्छ भने यो तरिका बाट पनि पुग नपुग लिन सक्नु हुनेछ । तर अमेरिकामा यसरि पनि घर किन्न पाइने रहेछ भनि उतै गएर सर सापट लिएर किन्ने भन्ने तर्फ चाही नलाग्नु नै बेस हुनेछ ।
तर पैसा लिने काम र दिने काम गर्नु भन्दा नगर्नु नै बेस हुन्छ । किनकी पैसाको लेनदेनले शत्रुता ल्याउँछ । तिक्तता ल्याउछ । मन ठूलो हुनेले आर्थिक सहयोग गर्न पछि हट्दैनन् । पैसाको कारोवार बाट भै रहेको सम्बन्ध नचिसियोस । थोर बहुत सहयोगले परदेशमा एउटा नेपालीले अचल सम्पत्ति जोड्छ भने राम्रो कुरा मान्नु पर्छ । सकारात्मक मान्नु पर्छ ।
यसो भन्दैमा यसको पछाडि नलागी ,आफुले अमेरिकामा कमाउने र आफैले जोहो गरेर राखेको मूद्राले छाप्रो जोड्नु नै महान कार्य हुने छ । माग्नु सबैभन्दा सरल काम हो । तर आफ्नो मान, ईज्जत तथा प्रतिष्ठामा बस्ने नेपाली पनि हुने भएकोले अधिकांसले आफ्नो पाखुरी र पौरख देखाएर कसैसंग सर सापटी नमागी घर किन्ने पनि हुन्छन । उनीहरुलाई बहादुर र आँटी भने पनि हुन्छ ।
दुखमा सच्चा सहयोगी को भनि चिनिने हुनाले हात फैलाउदैमा माग्ने मानिस न सानो हुन्छ न त दिने मानिस नै ठूलो हुन्छ । आपत बिपत सबैलाई पर्दछ । अमेरिकामा यसरि सरसापट लिएर भए पनि आखिर घर चाही जोडिन्छ र जोडी रहेको हुन्छ ।
स्रोत-dainiknepal.com
काठमाडौं, २३ वैशाख । वैदेशिक रोजगारीका क्रममा कतार पुगेका रामेछाप जिल्लाका विष्णु अधिकारीलाई नेपाल प्रहरीलदे उद्धार गरेर स्वदेश ल्याएको छ ।
रामेछाप जिल्ला खिम्ती– ७ घर भएका अधिकारी २०७२ साल माघ १९ गते नेपालबाट कतार रोजगारको सिलसिलामा गएका थिए । सहमति अनुसारको काम तथा तलव समेत नपाई खान बस्न समस्या भई अलपत्र परेको उजुरी उनकी श्रीमतीले महानगरीय अपराध महाशाखामा दिएकी थिइन् ।
आफ्ना पति कतारमा दुःख पाएको थाहा पाएपछि पत्नी प्रहरीको शरणमा पुगेकी थिइन् । प्रहरीले पनि राम्रोसँग सहयोग गरेपछि अधिकारी सकुशल फिर्ता हुन सकेका हुन् ।
सोही उजुरीका आधारमा नेपाल प्रहरीले कतारस्थित नेपाली दूतावास तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी यही वैशाख २१ गते अधिकारीलाई कतारबाट उद्दार गरी काठमाडौं ल्याएको विज्ञप्तिमा उल्लेख छ ।
अधिकारीलाई कतार पठाएर अलपत्र बनाउने म्यानपावर कम्पनीविरुद्ध थप अनुसन्धान गर्नुका साथै प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
स्रोत-dainiknepal.com
२२ वैशाख, काठमाडौं । बेलायतको चर्चित एवं लोकप्रिय टेलिभिजन रियालिटी शो एक्स फ्याक्टरमा एक नेपाली युवा छानिएका छन् ।
भैरवहा निवासी २१ वर्षीय सुयोग रामदाम अडिसन चरण पास गरि दोस्रो चरणमा प्रवेश गरेका हुन् । दोस्रो चरणमा प्रवेश गरेसँगै उनले सामाजिक सञ्जाल फेसबुकमा देशलाई प्रतिनिधित्व गरेर यहाँ सम्म पुग्दा भाग्मानी महसुस गरेको बताएका छन् । दोस्रो चरणमा प्रवेश गरेका रामदामले अवसरलाई सफलतामा बदल्ने विश्वास व्यक्त गरेका छन् ।
साइमन कोवेलले सन् २००४ बाट शुरु गरेको गायनमा नयाँ प्रतिभा जन्माउने उक्त शो प्रत्येक वर्ष अगष्ट, सेप्टेम्म्बर देखि डिसेम्बरसम्म प्रसारण हुंदै आएको छ । पब्लिक दर्शकबाट छानिने उक्त शो यसअघि ९० लाख दर्शकले एकैपटक अवलोकन गरेका थिए ।
हालसम्म स्टिभ ब्रुकस्टेन, सायन वार्ड, लियोना लिवीस् , लियोन ज्याक्सन, अलेक्सान्ड्रा बर्क, जो म्याक एल्डरी, म्याट कार्डल, लिटिल मिक्स, जेम्स् आर्थर, साम बेली र बेन हेइनाउ गरि ११ जनाले उक्त उपाधि जितिसकेका छन् ।
दूतावासमै आश्रित नेपालीबाट आक्रमण
काठमाडौं: साउदी अरबस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मामाथि एक नेपाली युवाले कार्यकक्षमै छुरा हानेका छन् ।
राजदूतावासमा शरण लिइरहेका एक नेपाली युवाले राजदूत शर्माको कार्यकक्षमै छुरा हानेर घाइते बनाएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
राजदूतावासमा शरण लिइराखेका एक नेपालीले उनीमाथि आक्रमण गरेको जानकारी पराराष्ट्र मन्त्रालयले दिएपनि आक्रमणमा संलग्नको नाम भने खुलाइएको छैन ।
छुरा लागेर घाइते भएका शर्माको साउदी अरबको किङ फैसल अस्पतालको आकष्मिक कक्षमा उपचार भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उपचारपछि उनी खतरामुक्त रहेको जानकारी साउदी अरबको राजदूतावासबाट प्राप्त भएको छ । आक्रमणमा संलग्न ती नेपालीलाई साउदी प्रहरीले नियन्त्रणमा लिइ कानुनी कारवाही अगाडि बढाइसकेको छ ।
यस विषयलाई गम्भीरतापूर्वक लिदै थप विवरणका लागि राजदूतावासलाई निर्देशन दिइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
कुटनीतिक पदाधिकारीमाथि भएको यस घटनाको परराष्ट्र मन्त्रालयले भर्त्सना गरेको छ । शर्मामाथि आक्रमणको कारण भने खुल्न सकेको छैन ।
स्रोत-annapurnapost.com

