सेल्फी खिच्दा नारायणीमा बेपत्ता युवतीको शव फेला पर्यो
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

प्रवेश खबर,  फाल्गुन २०, २०७२- गत आइतबार सेल्फी खिच्दा चितवनको भरतपुर उपमहानगरपालिकास्थित नारायणी नदीमा डुबेर युवती बेपत्ता भएकी विस्मिता ज्ञवालीको शव फेला परेको छ । 

उनको शव ४० मिटर तल नदीको भूमरी परेको ठाउँमा अड्केर बसेको अवस्थामा बिहान माछा मार्न गएका युवाहरुले फेला पारेका थिए । नवलपारीको गैंडाकोट १६ बस्ने १८ वर्षीया नम्रता सापकोटा र सोही ठाउँकी उनकी साथी विस्मिता ज्ञवाली नदीमा डुबेका थिए । बग्दै गरेको अवस्थामा प्रत्यक्षदर्शी श्याम थापाले ४० मिटर परबाट नम्रतालाई सकुशल उद्धार गर्न सफल भए पनि विस्मिता भने बेपत्ता भएकी थिइन् । 

 वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक सत्यनारायण थापाका अनुसार अहिले ज्ञवालीको शव पोष्टमार्टमको लागि भरतपुर अस्पताल लगिएको छ । ज्ञवालीको शव नाकमा चोट लागेको अवस्थामा फेला परेको छ । उनको खल्तीबाट एउटा घडी फेला पारिएको थापाले बताए । 

उनले भने, 'कलेज ड्रेसमा नै रहेको अवस्थामा शव निकालिएको छ । उनको शव सुन्निएको पनि छैन । हामीले पोष्टमार्टमको लागि असपताल पठाएका छौं ।' दुवै जना अरुणा कलेजमा १२ कक्षामा पढ्दै गरेका विद्यार्थी हुन् । उनीहरु १२ कक्षाको अन्तिम परीक्षा दिने तयारीमा थिए ।

0 comments

Write Down Your Responses