घरभित्रै पूर्वसभासद् मरणाशन्न हुनेगरी कुटिइन्
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

गौशालाः महोत्तरी जिल्लाबाट एनेकपा (माओवादी)का पूर्वसभासद् बुधनीदेवी महतोलाई गएराति अज्ञात समूहले मरणाशन्न हुनेगरी कुटपिट गरेको छ । जिल्लाको लक्ष्मिनियाँ गााविस–८ घर भएकी पूर्वसभासद् महतोलाई गएराति घरमा बसिरहेको बेला ८÷१० जनाको समूहमा आएको अज्ञात व्यक्तिले मरणाशन्न हुनेगरी कुटेको माओवादी नेता महादेव यादवले बताए । घरेलु हातहतियार र लठ्ठी भाटा लिएर आएका अज्ञात व्यक्तिको कुटाइबाट सभासद् महतो गम्भीर घाइते भएकी छन् । उनको अवस्था चिन्ताजनक रहेको छ । गएराति करिब १० बजेको समयमा अज्ञात व्यक्तिहरुले आफ्नै सुत्ने कोठामा बसिरहेकी उनलाई शरीरभरि अन्धाधुन्द लठ्ठी र भाटा प्रहार गरी घाइते बनाएको थियो । घाइते सभासद्को उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको माओवादी नेता पिकरु पासवानले जानकारी दिए । उनी हिँडडुल गर्न र बोल्न नसक्ने अवस्थामा पुगिकी छन् । उपचारमा संलग्न चिकित्सकले उनको अवस्था चिन्ताजनक रहेको नेता पासवानले बताए । सभासद् महतोलाई कसले के कारण कुटपिट गरेको भन्नेबारे केही खुलेको छैन । यता, जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई यस घटनाबारे केही जानकारी नभएको जनाइएको छ । रासस

0 comments

Write Down Your Responses