सागर बिक्रम बस्नेत/रामेछाप ।
वैशाख ३० – रामेछापको सुकाजोरका गणेश बहादुर याक्चै मगर कतारको तातो घाममा काम गरेर महिनाको २५ हजार रुपैयाँ कमाउनुहुन्छ । तर उहाँकी श्रीमती बुद्धिमायाले गणेशको भन्दा बढि कमाइ रहनुभएको छ, त्यो पनि गाउँमै बसेर ।
चार वर्ष अघि गाँउमा हुँदा गणेश दम्पतीसित ओत लाग्ने सानो घर थियो । गरिखाने माध्यम भनेको गणेशको दैनिक ज्यालादारी मात्रै थियो । त्यही भएर कमाउने मेलो समाउन गाउँ छोड्नुभयो । अनि रामेछाप बजारमा डेरा गरेर बस्न थाल्नुभयो ।
डेराको भाडा अनि परिवार चलाउने खर्च जुटाउन मुश्किल पर्न थालेपछि गणेशले विदेश जाने निर्णय गर्नुभयो । ‘यहीँ केहि गर्न पाए हुन्थ्यो विदेश जानु नपरे हुन्थ्यो भन्ने लागेको थियो । तर बाध्यताले गर्दा जानु भनें’ बुद्धिमायाले श्रीमानलाई विदेश पठाउँदाको दिन सम्झिनुभयो ।
कमाएर परिवारको आवश्यकता पूरा गर्न भन्दै २०६५ सालमा विदेश गएका गणेश त्यहाँ पुगेको डेढ वर्ष नपुग्दै बिरामी पर्नुभयो । त्यसैले कम्पनीले दिएको तलबले उपचार गराउनु र ऋण तिर्नु भन्दा दोस्रो काम सारेन ।
कमाउन गएका श्रीमान रित्तै हात फर्किएपछि बुद्धिमायाले लुगा सिलाउने कल समाउनुभयो । तर त्यो काम सजिलो थिएन उहाँका लागि । ‘कसैले नगरेको पेशा गर्ने भइ भन्थे ।’ बुद्धिमाया भन्नुहुन्छ ‘त्यो त केहि हो जस्तो लागेको थिएन । तर बजार धाउन थालेपछि अब श्रीमान पनि छोड्छे भनेको चाहिँ सहन निक्कै गाह्रो भयो ।’
सिलाईको काम सुरु त भयो तर सुरुमा काम दिन नै मानेनन कसैले पनि । काम नदिनेहरु उहाँलाई लुगा बिगार्छे भन्थे उति बेला । सिलाईको काम गर्नेहरुको कमाई गर्ने समय भनेकै चाडवाडको बेला हो । तर बुद्धिमायालाई दुई वर्षसम्म त केटाकेटी भन्दा अरुका लुगा सिलाउन नै दिएनन ।
‘त्यो बेला काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भन्ने सोचेर सुरु गरें अहिले ठिक गरेछु जस्तो लागेको छ ।’ बुद्धिमाया भन्नुहुन्छ । त्यति बेला पाँच हजार ऋण लिएर घरमै सुरु गरेको सिलाई कटाई व्यवसायले उहाँलाई सन्तुष्टि त दियो नै कमाई पनि हुन थाल्यो ।
विदेश गएको दुई वर्षपछि गणेश फर्किंदा बुद्धिमाया गाउँमै लुगा सिउँदै हुनुहुन्थ्यो । श्रीमानले विदेशमा कमाउन नसकेपछि र आफ्नो कमाई राम्रो हुँदै गएपछि बुद्धिमायाले टेलर्स बजारमा सार्ने निधो गर्नुभयो ।
त्यति बेला उहाँसित ३० हजार रुपैयाँ मात्रै थियो । त्यसैले सयकडा चार रुपैयाँका दरले साहुबाट ३० हजार रुपैयाँ ऋण खोजेर २०६८ सालमा बजारमै व्यवसाय गर्न थाल्नुभयो । अहिले उहाँको पसलमा लगानी नै ६ लाख रुपैयाँ भन्दा धेरैको भएको छ ।
श्रीमतीको कमाई महिनाको १५ देखि २० हजार हुन थालेपछि गणेशलाई पनि त्यतिकै के बस्नु भन्ने लाग्यो । त्यसैले २०७० सालमा फेरि कतार जानुभएको छ । गणेश अहिले कतारमा स्काफोल्डिङको काम गर्नुहुन्छ ।
अहिले गणेश महिनामा ३५ हजार जति जोगाउनुहुन्छ । त्यो पैसामध्ये घर पठाउनुहुन्छ महिनाको ३० हजारसम्म । आफनो कमाईले घरको खर्च टारेर दुई जना छोराछोरीको पढाई खर्च पुर्याइरहेकी बुद्धिमायाले आफ्नो नाममा दैनिक तीन सय रुपैयाँ बचत पनि गरिरहनुभएको छ ।
विदेशको तातो घाममा फलामको काम गरिरहेका श्रीमानको भन्दा राम्रो कमाई हुन थालेपछि बुद्धिमायालाई काम गरे आफनै गाउँमा गर्न सकिने रहेछ भन्ने लागेको छ । श्रीमानले कमाएको पैसा घर बसेर खर्च गर्नुभन्दा आफूले पनि केहि उद्यम गर्न सके विदेशमा कमाएको बचत गर्न सकिने रहेछ भन्नुहुन्छ बुद्धिमाया । उहाँ भन्नुहुन्छ ‘दिनको एक हजार रुपैयाँ कमाउन किन सात समुन्द्र पारी जानु ? विदेश जाने पैसाले यहीँ केहि उद्यम गर्न सके त्यो राम्रो हुनेरहेछ ।’
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाग्रीहरु
आबुधाबी डायलग : कामदार पठाउने ११ र लिने सातवटा मुलुकबिच पारदर्शिता आवश्यक
डायलगमा रोजगारीका लागि कामदार पठाउने सदस्य मुलुकहरु नेपालसहित अफगानिस्तान, बंगलादेश, भारत, इन्डोनेसिया, मलेसिया, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड र भियतनामका प्रतिनिधीको सहभागिता थियो ।
तरकारी व्यापारले बनायो कुल्लीबाट करोडपति
गाउँघरमा गरिखाने मेसो नभेटिएको भन्दै घर छोडेर भारत तथा तेस्रो मुलुक जाने युवाहरुको लर्काे रोकिएको छैन । आफ्नै माटोमा केही गर्ने सम्भावना नभएका कारण परदेशी भूमिमा पसिना बगाएर धेरैले जीवन गुजारा गरिरहेका छन् ।
भिजिट भिसा : म्यानपावर र ट्राभल एजेन्सीको नयाँ ठगी धन्दा
भक्तपुरका विशाल थापाले उज्यालोको इमेलमा नेपालमा आफूलाई दलालले भिजिट भिसामा गएर काम पाइन्छ भनेर दुवई पुगेको कुरा लेख्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘यहाँ आएपछि मलाई थाहा भयो कि धेरै नेपालीको भिजिट भिसामा दुवई आएर बिजोक भएका रहेछन् ।’
नक्कली कागजात बनाएर विदेश पठाउन संलग्न ७ जना पक्राउ, २ महिलाकाे उद्दार
प्रहरीले नक्कली कागजात बनाएर विदेश पठाउने काममा संलग्न ७ सहित जना पक्राउ गरेको छ । प्रहरीले विभिन्न ठाउँमा छापा मारेर म्यानपावर र ट्राभल एजेन्सिका संचालक तथा निलम्बित कर्मचारी गरि ७ जना पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।
विदेशमा काम गर्ने श्रीमान भन्दा गाँउमै कपडा सिलाउने श्रीमतीको धेरै कमाई

0 comments
Write Down Your Responses