किन बढ्दैछ जापान पुगेर आत्महत्या गर्ने नेपालीको संख्या ?
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्

जापान पुगेका नेपालीले आत्महत्या किन गर्छन् ? ५० हजारभन्दा बढी नेपाली रहेको जापानमा छोटो समयमा धेरै पैसा कमाउने इन्द्रेणी सपना पूरा नभएपछि आत्महत्या गर्ने गरेको आँकलन गर्ने गरिन्छ । अधिकांश नेपाली विद्यार्थी, कुक, विवाहित, व्यापार, प्रशिक्षण, कूटनीतिक भिसामा जापान प्रवेश गरेका छन् । देश छाडेर विदेश पुगेका नेपाली युवक–युवती रूखमा झुन्डेर, गुडिरहेको रेलमा ठोक्किएर, विष पिएर वा अन्य तरिकाले आत्महत्या गर्ने गरेका छन् ।
स्टुडेन्ड भिसा
विद्यार्थीलाई जापान जान सजिलो छ । युरोप, अस्ट्रेलिया, अमेरिकाको भिसा नलागेपछि उनीहरू जापान जाने गर्छन् । जापान पठाउने कन्सलटेन्सीको जापानसम्बन्धी सस्तो प्रचार, चर्काे ब्याजको ऋण, जापानी भाषाबारे अर्धज्ञानमात्रै नभएर थोरै समयमा धेरै पैसा कमाउने महत्वाकांक्षी सपना पूरा गर्न समय लाग्छ । उनीहरूलाई जापानको कुन ठाउँ जाँदा बाँच्न सहज र काम पाउन सजिलो हुन्छ भनेर ज्ञानसमेत हुँदैन ।
जापान पुगेका विद्यार्थीले २८ घन्टाभन्दा बढी काम गर्न पाउँदैनन् । एक विद्यार्थी ६ महिनादेखि दुई वर्षसम्मको भिसामा जापान प्रवेश गरेका हुन्छन् । उसलाई एकदेखि साढे एक वर्षसम्म जापानको भाषा, संस्कृति सिक्न बुझ्न समय लाग्छ । काम पाउन पनि त्यत्तिकै सयम लाग्छ । जापान आउँदा लिएको १०/१२ लाख ऋण जापान आउनु चार/पाँच महिनाअघिबाट चर्काे ब्याज तिर्नुपर्ने बाध्यता छँदै छ । जसोतसो जापान पुगे पनि काम पाउन त्यति सजिलो छैन । जापान पुगेको केही समयपछि आमाबुवाले ऋणले टुप्पी नाघ्न लाग्यो भनेर दुःखेसो पोख्ने थाल्छन् । तनावमाथि तनाव । दाइ जापान पुगेपछि भाइलाई मोटरसाइकल चाहिन्छ । बहिनीलाई स्कुटी । श्रीमती गरगहना ।
जापान पुगेका विद्यार्थीलाई स्कुलको शुल्क तिर्न त छँदै छ । घरभाडा, पानी, ग्यास, बत्तीको पैसा नतिरी सुखै छैन । त्यसमाथि घरपरिवारका माग पूरा गर्न दबाब आउँछ, ऊ पीडामाथि पीडा सहन सक्दैन । आफूले आफैंलाई वशमा राख्न नसकेपछि आत्महत्या गर्छ ।
कुक भिसा
कुकको आफ्नै पीडा हुन्छ । जापानी भाषाको ज्ञान सयमा पाँचजनालाई मात्रै हुन्छ । उच्चशिक्षा हासिल गरेको प्रमाणपत्र भए पनि काम नपाएपछि वैदेशिक रोजगारीमा जानुको विकल्प छैन । देश पनि हेरिने मुख पनि फेरिने भन्दै बिदेसिएका उनीहरूले जापान पुगे पनि सोचेजस्तो काम पाउँदैन । प्रक्रिया पूरा गरेर जापान पुग्दा सम्बन्धित व्यक्तिको २०/३० लाख खर्च भइसकेको हुन्छ । भव्य रेस्टुरेन्टमा काम पाउँछौ भन्दै एजेन्टले आश्वासन दिए पनि जापान पुग्दा स–साना रेस्टुरेन्ट काम गर्न पर्दा सम्बन्धित व्यक्ति छाँगाबाट खसेजस्तै हुन्छ । धन कमाउन घरपरिवारलगायत सारा–सारा छाडेर बिदेसिएका उनी जापान टेकेको दिनबाटै निराश हुन्छ ।
तैपनि काम गर्नैपर्यो । सोचेभन्दा कम पारिश्रमिकमा काम गरे पनि भनेको समयमा नपाउँदा उसको मनस्थिति कस्तो होला ? ५÷६ महिना बित्दा बल्लतल्त एक/दुई महिनाको तलब पाउँदा पनि खुसी नै हुनुपर्ने बाध्यता छ । पारिश्रमिकबापत हात लागेको पैसाले आफूलाई त पुग्दैन भने चर्को ब्याजमा लिएको ऋणले भत्भती पोल्ने भइहाल्यो । तर, सकारात्मक सोच्नेले जसोतसो ऋण तिर्दै परिवार पालेकै हुन्छन् । अप्ठ्यारो पर्यो भन्दैमा आत्तिएर भाग्न खोज्दा समस्या समाधान गर्न सकिँदैन ।
विदेशको घमण्ड
जोकोही जापान पुगेका छन् भने सम्बन्धित परिवारले घमण्ड गर्न थाल्छन् । सम्बन्धित परिवारका आफन्तले जापानमा रहेका आफन्तलाई साहुले एक÷दुई महिनापछि कामबाट निकाल्छ । जापानमा रेस्टुरेन्ट साहुको काम नेपालबाट मान्छे ल्याउदै चार÷पाँच महिना काम दिएपछि उसलाई निकालेर नयाँ कामदार ल्याउने भन्दै पैसा कमाउने ध्याउन्न हुन्छ । रेस्टुरेन्ट सञ्चालनमा ल्याएबापत सम्बन्धित साहुलाई भाडा तिर्नै पुग्दैन ।
यताउता गर्दै दुई वर्षको भिसा सकिन्छ । अनि बाध्य भएर शरणार्थी बनेर भए पनि जापान बस्नुको विकल्प हुँदैन । उसलाई न भाषा आउँछ न अन्यको जानकारी छ । आफूले पाएको दुःख, जापान आउँदाको ऋण, जापानमा काम नपाउनुको समस्याले पिरोल्छ । जति गरे पनि मन बुझ्दैन । आत्म कमजोर भएकाहरू आत्महत्या गरेर दुःख लुकाउन बाध्य हुन्छन् ।
अन्य समस्या
अन्य भिसामा जापान पुग्नेको पनि आफ्नै समस्या छन् । त्यस्ता समस्या समाधान जापानमा रहेका नेपालीले खोज्नुपर्छ । पीडा हुन्छ त हामी नेपालीलाई नै हुन्छ । रोग फैलिनुभन्दा अगाडि नै त्यसको बाटो छेक्नु नै महान्ता हो । जापानमा यति धेरै बौद्धिक वर्ग छन्, त्यत्तिकै संघ–संस्था छन् । आफूलाई आइपरेको समस्या समाधानका लागि जापानमा जनचेतनामूलक कार्यक्रम गरेर सन्देश प्रवाह गर्न ढिला भइसकेको छ ।
समाधान
एनआरएनए जापानले जापानका हरेक क्षेत्रका समस्या पहिचान गरेर समाधान खोज्नुपर्छ । नेपाली दूतावासले जापानमा रहेका नेपालीको सुख–दुःखका साथी बन्न सक्नुपर्छ । हामीले आजबाटै समस्या समाधानको विकल्प खोज्न थाल्यौं भने नेपालबाट जापान पुगेर आत्महत्या गर्नु पर्दैन थियो कि ? जापानमा सबै व्यस्त हुन्छन्, व्यस्तताले अरूबारे सोच्ने कसैलाई समय हँुदैन तर एउटा नेपालीलाई परेको पीर–मर्का अर्को नेपालीले नबुझे कसले बुझ्ने ?

,

0 comments

Write Down Your Responses