खाडी जाने तयारीमा रहेका किसानको १० लाख आम्दानी
प्रबाशी खबर, बारा, फागुन १८ । बाराका एक किसानले व्यवसायिक खेती गरी वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्न थालेका छन् ।
गरिबी र बेरोजगारीको चपेटामा परेका बारा पत्रहटी गाविसका किसान रुपनारायण साहले कृषि विज्ञहरुको सल्लाहमा सुरु गरेको व्यवसायिक खेतीबाट राम्रो आम्दानी गर्न थालेका हुन् ।
यसअघि उनी आफ्नो जग्गा बेचेर विदेश जाने तयारीमा थिए ।
तर कृषि विज्ञहरुको सल्लाहमा उनी विदेश जान छाडेर तीन विगाहा जग्गामा व्यवसायिक तरकारी खेती गर्न थालेका थिए । तीन वर्षअघि सुरु गरेको तरकारी खेतीबाट उनले परिवारलाई राम्रोसँग पालनपोषण गर्दै आएका छन् ।
संयुक्त परिवारमा बस्दै आएका साहले आलु, काउली, गोलभेडा, बन्दा, प्याज र लसुनलगायतका मौसमी तरकारी उत्पादन गर्दै आएका छन् ।
तरकारी बिक्री गरेरै भएको आम्दानीले उनले १८ कोठे पक्की घरसमेत बनाइसकेका छन् ।
जिल्ला कृषि विकास कार्यालयसँगको निरन्तर सम्बन्ध र सल्लाहबाट तरकारी खेति गरी सफलता हासिल गरेका रुपनारायण साह अहिले गाउँमै उदाहरणीय बन्दै गएका छन् ।

0 comments
Write Down Your Responses